जे.ई. खोप (Japanese Encephalitis-JE Vaccine)

परिचय
जापानीज इन्सेफ्लाइटिस् (Japanese Encephalitis) रोगका विरुद्ध खासगरी दुई किसिमका खोपहरु उपलब्ध छन् जसमा जीवित तर कमजोर पारिएका (Live attenuated) र मृत भाइरस (inactivated killed) भ्याक्सिनहरु पर्दछन् । हाल राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत नियमित खोप कार्यक्रममा दिईने खोप धूलो पाउडरको रूपमा (
फ्रिजड्राइड पाउडर) उपलब्ध हुन्छ ।

बनावट
यो खोप जिवित तर कमजोर पारिएको भाइरस (Live Attenuated Virus) बाट बनाइएको हुन्छ । नेपालमा हाल उपलब्ध गराइएको खोप SA-14-14-2 हो । जे.ई. खोप सुख्खा धूलो (फ्रिज ड्राइड पाउडर) रूपमा उपलब्ध हुन्छ । यो ५ मात्राको भाइलमा उपलब्ध हुन्छ ।

खोप दिने मात्रा र उमेर
यो ०.५ मि.ली. मात्र दिइन्छ । बच्चाको उमेर १२ महिना देखि २३ महिना सम्ममा एक पटक दिइन्छ ।

खोप दिने तरीका
यो खोप दायाँ तिघ्राको माथिल्लो बाहिरी भाग छाला र मासुको बीचमा दिइन्छ । खोप दिनु अगाडि बच्चालाई सही आसनमा राखी सूईलाई ४५ डिग्री कोणमा राखी छाला र मासुको बीचमा (Subcutaneous) दिनुपर्दछ ।

खोप दिन नहुने अवस्थाहरु
- विगतमा जे.ई. खोप लिँदा गम्भीर खालको प्रतिकुल असर भएको पाइएमा ।
- विगतमा खोपमा मिश्रित तत्वहरु जस्तै जिलाटिन र जेन्टामाइसिन, कानामाइसिन इत्यादि बिरुद्ध गम्भीर खालको प्रतिकूल असर भएको पाइएमा ।
- एड्स रोगको लक्षण र चिन्हहरु देखिएका तथा प्रतिरक्षा शक्ति कमजोर भएका व्यक्तिहरुमा
- उच्च तापक्रम (३८.५ से.ग्रे.) भन्दा माथि ज्वरो पाइएमा खोप प्रयोग गर्नुहुदैन । तर ज्वरो कम हुने वित्तिकै खोप प्रयोगमा ल्याउन सकिनेछ ।

खोप लगाएपछि हुनसक्ने असर
- जे.ई. खोप लगाएपछि ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्ने र मांसपेशी दुख्ने जस्ता किसिमका
असरहरु खोप लगाएका केहि जनालाई देखा पर्दछन् ।
- यी धेरै जसो असरहरु केहि दिनसम्म मात्र रहन्छन् ।

घोलेको १ घण्टा पश्चात् जे.ई. खोप प्रयोग गर्नु हुँदैन। त्यसको लागि घोलिएको प्रत्येक भाइलमा खोलेको समय लेख्नु अनिवार्य छ । घोलेको १ घण्टा नभएपनि खोप सेसन सकिने बित्तिकै घोलेको खोप फ्याँकिदिनुपर्दछ । घोलेको खोप अर्को सेसनमा कदापि प्रयोग गर्नु हुँदैन ।

[ साभार : खोप सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुका लागि तालिम तथा कार्य सञ्चालन पुस्तिका, २०७० ]

Image From : http://st1.thehealthsite.com/

No comments

Powered by Blogger.